काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल चैतमा सकिँदै छ । २०७६ चैत २४ गते नियुक्त भएका अधिकारीले नेपाली अर्थतन्त्रका लागि पाँच वर्षमा केही महत्त्वपूर्ण र केही लहडी निर्णय गरेका हुँदा उनको कार्यकाललाई राजनीतिक अर्थशास्त्रीहरू मध्यम रूपमा चित्रण गर्छन् ।
विशेषगरी उनले जाँदाजाँदै घरजग्गा र शेयर लगानीकर्ताको हितमा अपेक्षित निर्णय लिन सकेनन् । गत साउनमा आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति जारी गरेका अधिकारीले अर्थतन्त्र चलायमान बनाउने खालका उचित निर्णय लिन नसक्दा उनको कार्यकाल खिन्न किसिमको भएको लगानीकर्ताहरू बताउँछन् । विश्वभर रूस-युक्रेन युद्ध, कोभिड-१९ को असरले आर्थिक मन्दी रहेको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन र देशलाई सही ट्र्याकमा ल्याउन उनले खास भूमिका खेल्न सकेनन् ।
उनको कार्यकाल सकिनै लाग्दा काविल अर्थशास्त्रमा रूचि राख्नेहरू भने यसपटक गभर्नर बन्ने र देशको आर्थिक सुधारलाई चुस्त बनाउने खाकाको तयारीमा जुट्न थालेका छन् । गभर्नर अधिकारीलाई तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को संयुक्त भागबण्डाका आधारमा अर्थमन्त्री युवराज खतिवडाले यो जिम्मेवारी दिएका थिए । लामो समय राष्ट्र बैंकमा डेपुटी गभर्नरसमेतको भूमिकाबाट कार्यकाल सकेर बाहिरिएको पाँच वर्षपछि उनलाई गभर्नर बन्ने सौभाग्य प्राप्त भएको थियो ।
तर, यसपटक दुई ठूला राजनीतिक दल एमाले र नेपाली कांग्रेसको सरकार रहेको हुँदा यिनै दुई दलको रूचिका पात्र गभर्नर बन्ने सम्भावना छ । अहिलेको आर्थिक अवस्थालाई नजिकबाट बुझ्ने र निकास दिने गभर्नरको खोजी र आवश्यकता छ । यस्तो अवस्थामा को गभर्नर बन्ने भन्ने कुरा आम व्यक्तिका लागि चासोको विषय बनेको छ । अघिल्लो पटक एमालेको कोटाबाट गभर्नर बनेका हुँदा यसपटक कांग्रेसबाट दाबेदारी राख्नेहरू पनि हुन सक्छन् । त्यसको अर्को पनि कारण छ । धितोपत्र बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेकै पात्र अध्यक्ष बनेपछि गभर्नरमा कांग्रेसले बार्गेनिङ गर्ने सम्भावना रहन्छ । यद्यपि, अर्थमन्त्रीकै संयोजकत्वमा छनोट समिति बन्ने हुँदा अहिलेका अर्थमन्त्री विष्णु पौडेलको हात माथि पर्ने सम्भावना पनि बलियो छ ।
कोको छन् चर्चामा ?
गभर्नरका रूपमा अधिकारीको कार्यकाल तीन महिना बाँकी हुँदा यतिबेला गभर्नरमा आकंक्षा राख्नेहरूले योजनासहित नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । डेपुटी गभर्नर बमबहादुर मिश्र र नीलम ढुंगाना तिमल्सिना पनि यस दौडमा सामेल रहेको चर्चा छ ।
राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई पनि यसपटक प्रतिस्पर्धीको बलियो दाबेदारका रूपमा हेरिएको छ । अघिल्लो पटक अधिकारीकै पालामा पनि उनी मन्त्रिपरिषदमा सिफारिस हुँदा तीन जनाको छनोट समितिमा समेत परेका थिए । उनकै संयोजकत्वमा नयाँ नेपाल स्टक एक्सचेन्जको औचित्य आवश्यक रहे/नरहेको भन्ने अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो । कार्यकुशलताको हिसाबले पनि निकै सक्षम पात्रको रूपमा उनलाई हेरिएको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनाल हाल उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजक छन् । खनाल नैतिकवान्, बौद्धिक र निर्णय लिने क्षमतामा अब्बल मानिन्छन् । हालै मात्र अर्थतन्त्र सुधारको सुझावसहितको कार्यदलको संयोजक रहेर उनले बुधबार अर्थमन्त्री पौडेलसमक्ष प्रतिवेदन पेस गरेका छन् । अहिलेको अर्थतन्त्रलाई निकै मिहिन ढंगले अध्ययन गरेका खनाल अहिलेको अर्थतन्त्रका लागि आवश्यक पात्र पनि हुन् । उनी पनि गभर्नरको दौडमा भित्रभित्रै लागेको बुझिएको छ ।
प्रतिस्पर्धीको दौडमा चर्चामा रहेका अर्का पात्र हुन्, सुशील भट्ट । उनी लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा व्यवस्थापन संघका पूर्वअध्यक्ष पनि हुन् ।
त्यस्तै नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारीद्वय निर्देशक राजनसिंह भण्डारी, लालशंकर घिमिरे, पूर्वराजस्व सचिव रवीन्द्र पाण्डे, राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्ट गभर्नरको रेसमा रहेको बुझिएको छ । यद्यपि, उनीहरू आफैंले भने यसबारे मुख खोलेका छैनन् । अहिले नै मुख खोल्दा राजनीतिक रूपमै पनि अप्ठेरो पर्ने हुँदा उनीहरूले भित्रभित्रै तयारी गरिरहेको बुझिएको छ ।
FACEBOOK COMMENTS