काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले यस्तो अनुरोध गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरूले बैंकको पोर्टल https://panupdate.nicasiabank.com/ वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको ‘PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् ।
साथै ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकका जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नका लागि आवेदन दिन सक्ने प्रबन्धसमेत मिलाइएको छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनका लागि प्यान आवश्यक पर्दछ प्यान अद्यावधिक भएपश्चात् उनीहरूको करकट्टीको विवरण (ई-टीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
ग्राहकहरूले प्यान अद्यावधिक नगराएका कारणले ई-टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसउप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा पनि जानकारी गराएको छ ।
साथै यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बरहरू १६६०-०१-७७७७१, ०१-५९७०१०१ मा सम्पर्क गरी सेवा लिन पनि अनुरोध गरिएको छ ।
FACEBOOK COMMENTS