काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्ने प्रयोजनका लागि बैंकले यस्तो अनुरोध गरेको हो ।
बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप NIC ASIA MoBank मा रहेको PAN Update विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्ययावधिक गर्नका लागि आवेदन दिन सक्नेछन् ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक छ । प्यान अद्यावधिक भएपश्चात् निक्षेपकर्ताको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनाका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएका कारण ई–टीडीएसमा ब्याज कर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा आफू जिम्मेवार नहुनेबारे पनि बैंकले सचेत गराएको छ ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सकिनेछ ।
FACEBOOK COMMENTS