काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित सहयोगी हातहरु नेपाल (सहारा घर) लाई आवश्यक सामग्री सहयोग गरेको छ।
बैंकले आश्रित व्यक्तिहरुको बसाइलाई सहज र स्वस्थ बनाउन डाइनिङ टेबल, बेन्च तथा स्वच्छ खानेपानीका लागि वाटर डिस्पेन्सर उपलब्ध गराएको हो। उक्त सामग्री बैंकका सर्कल हेड (धनगढी) दीपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई चैत २६ गते आयोजित कार्यक्रममा हस्तान्तरण गरेका थिए।
सहारा घरमा बालबालिका, महिला, शारीरिक रुपमा विशेष क्षमता भएका तथा ज्येष्ठ नागरिकसहित ९७ जना आश्रित रहेका छन्। संस्थाले असहाय तथा सहयोग आवश्यक परेका व्यक्तिहरुलाई खाना र आवाससहित संरक्षण प्रदान गर्दै आएको छ।
बैंकका अनुसार यस सहयोगले आश्रितहरुको दैनिक जीवन अझ सहज बनाउने र स्वच्छ खानेपानीको पहुँच सुधार्ने विश्वास लिइएको छ। यसअघि पनि बैंकले सामाजिक कार्यलाई निरन्तरता दिँदै विभिन्न विद्यालय तथा संस्थामा सहयोग गर्दै आएको छ।
बैंकले शान्ति सेवा गृहका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

यस्तै, विगतका वर्षहरूमा पनि बैंकले विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्नुका साथै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको जनाएको छ।
