काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ नेपालमै पहिलो पटक एप्पल पे र गुगल पेमार्फत भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवासँगै बैंकको ईकमर्स पेमेन्ट गेटवे प्रणालीमा जोडिएका व्यावसायिक ग्राहकहरूले अब विश्वभरका विदेशी नागरिकहरूबाट सिधै डिजिटल माध्यममार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकको ‘साइबरसोर्स पेमेन्ट गेटवे’ मा आबद्ध भइसकेका तथा भविष्यमा आबद्ध हुन चाहने जुनसुकै ईकमर्स व्यवसायीहरूले यो सेवा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाअन्तर्गत एप्पल पे र गुगल पे वालेटमा जोडिएका भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताले बिनाकुनै झन्झट आफ्नो मोबाइल डिभाइसमार्फत नै सुरक्षित रूपमा रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यो प्रविधि लागु भएसँगै अन्तर्राष्ट्रिय ग्राहकहरूले नेपालका वस्तु तथा सेवा खरिद गर्दा भौतिक रूपमा कार्ड (प्लास्टिक कार्ड) बोक्नुपर्ने वा कार्डका संवेदनशील विवरणहरू पटक–पटक प्रविष्ट गर्नुपर्ने झन्झट हटेको छ ।

यसमा ग्राहकले आफ्नो कार्डको विवरणलाई एप्पल वा गुगल एन्ड्रोइड डिभाइसमा ‘टोकनाइज’ अर्थात् वास्तविक कार्ड नम्बरलाई सुरक्षित डिजिटल कोडमा रूपान्तरण गरी सुरक्षित राख्ने विधि) गरेर अत्यन्त सरल र छरितो ढंगले भुक्तानी सम्पन्न गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यो सेवा विशेषगरी अन्तर्राष्ट्रिय ग्राहकहरूसँग नियमित कारोबार गर्ने क्षेत्रहरूका लागि कोशेढुङ्गा सावित हुने देखिएको छ । बैंकका अनुसार होटल तथा आतिथ्य, टुर्स एन्ड ट्राभल्स, हस्तकला (ह्यान्डीक्राफ्ट), एयरलाइन्स, ई–कमर्स, आईटी सेवा प्रदायक तथा विभिन्न नेपाली उत्पादन विदेश निर्यात गर्ने व्यवसायीहरू यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नेपाली व्यवसायीहरूले साइबरसोर्स गेटवेमार्फत आफ्ना अन्तर्राष्ट्रिय ग्राहकलाई उनीहरूकै देशमा परिचित र भरपर्दो ‘पेमेन्ट एक्सपिरियन्स’ (भुक्तानी अनुभव) दिलाउन सक्ने भएकाले अन्तरदेशीय व्यापार विस्तार गर्न र देशमा विदेशी मुद्रा भित्र्याउन यसले ठुलो मद्दत पुग्ने बैंकको विश्वास छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलले भने, “यस भुक्तानी सेवाले मर्चेन्ट ग्राहकहरूको व्यवसाय विस्तारमा टेवा पुर्याउने, भुक्तानी प्रक्रिया सरल र सुरक्षित बनाउने तथा देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास बैंकले लिएको छ ।”