काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ५ गुणा अर्थात १५० प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ६ करोड ४९ लाख ३७ हजार खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १६ करोड २६ लाख ७५ हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी १०३ प्रतिशत र सञ्चालन नाफा १४९ प्रतिशत वृद्धि भएको छ ।
चुक्ता पूँजी रू. १ अर्ब ७३ करोड ९४ लाख रहेको कम्पनीले जगेडामा रू.९९ करोड ८५ लाख सञ्चित गरेको हो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ३ अर्ब १९ करोड २७ लाख ३६ हजार निक्षेप संकलन गरेर र रू.२० अर्ब ६१ करोड २६ लाख सापटि लिएर रू. २२ अर्ब ३ करोड ६४ लाख कर्जा लगानी गरेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ५५ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३६ दशमलव ३१ पुगेको हो । त्यसैगरी मूल्य आम्दानी अनुपात ३१ दशमलव १२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ४१ रहेको छ ।
FACEBOOK COMMENTS