काठमाडौं । एनआईसी एशिया क्यापिटलले पाल्पामा पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
ग्लोबल मनी विक–२०२४ को अवसरमा पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा आज आइतबार पूँजी बजार साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरूलगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराइएको क्यापिटलले जनाएको छ ।
अधिकांश मर्चेण्ट बैंकहरू उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरूले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरका बसोबास गर्ने युवाहरूलाई लक्षित गरी ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नारासहित सहज र कमाएको पैसा कसरी बचत गर्ने र बचत गरेको रकमबाट कसरी सरल रूपमा मुद्रा बजार उपकरणहरू तथा पूँजी बजारमा सुरक्षित रूपमा कसरी कारोबार गर्न सकिन्छ भन्ने सम्बन्धमा धितोपत्र बोर्डको प्रतिनिधि, एनआईसी एशिया क्यापिटलको उच्च व्यवस्थापन तहका कर्मचारी र सहभागीहरू बीच छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।
उक्त कार्यक्रममा १८० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य लगानीकर्ताहरूको समेत सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS