काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ऋणीहरूका लागि जरिवाना र हर्जना नलिने तथा व्याज रकममा समेत आकर्षक छुटको अफर अघि सारेको छ ।
बैंकबाट प्रवाह भइ निष्क्रिय बनेका कर्जा असुलीका लागि बैंकले यो आकर्षक योजना अघि सारेको हो । देशको विद्यमान आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यका साथ यस्तो योजना ल्याइएको बैंकले जनाएको छ ।
यो योजना २०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरूमा मात्र लागू हुने बैंकका सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए । उनका अनुसार सम्बन्धित ऋणीले आफ्नो २०८० चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिइने छ ।
यस्तै, कमसल, शंकास्पद र खराब कर्जाको व्याजमा क्रमशः १०, १५ र २० प्रतिशत छुट दिने पनि बैंकले घोषणा गरेको छ । यसैगरी, मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने खनियाले जानकारी दिए ।
असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको बैंकले स्पष्ट गरेको छ । ‘बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवम् दीगो सबलीकरणमा समेत टेवा पुग्ने विश्वास लिएका छौँ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS