काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ बैंकिङ सेवा उपलब्ध गराउँदै आएको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।
केही समयअघि साउदी अरेबियामा सम्पन्न ‘डब्ल्यूएएफएफ वमन्स च्याम्पियनशीप, २०२४’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई बैंकले सम्मान गरेको हो ।
हिजो सोमबार ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयनमा विशेष कार्यक्रम आयोजना गरेर बैंकले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै टोलीलाई सम्मान गरेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित सो सम्मान कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही रू. २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ ।
पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानशीप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिँदै प्रतियोगिताको फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो ।
FACEBOOK COMMENTS