काठमाडौं । नेपाल सरकारका पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलले निजामती कर्मचारीले सरकारको गति अनुसार काम नदेखाए बर्खास्तीको बाटो अपनाउनुपर्ने सुझाव दिएका छन् ।
फागुन २१ गते भएको आम निर्वाचनबाट प्राप्त जनादेश अनुसार सरकार गठनको तयारी भइरहेका बेला उनले यस्तो सुझाव दिएका हुन् । निजामती कर्मचारीलाई दिइएको जिम्मेवारी पूरा गर्न नसके वा परिभाषित काममा आफूलाई प्रमाणित गर्न नसके बर्खास्तीको बटो अपनाउनुपर्ने उनको भनाइ छ ।
अनलाइन खबरमा प्रकाशित एक अन्तर्वार्तामा उनले भने का छन्, ‘निजामती सेवाको हकमा प्रधानमन्त्री र मन्त्रीहरूले कर्मचारीहरूलाई राखेर स्पष्ट रूपमा भन्नुपर्छ, ‘हामी तपाईंहरूबाट यो चाहन्छौँ, आवश्यक परे हामी कडा पनि हुन सक्छौं ।’ केही दिन चलाएर हेर्नुपर्छ । यदि उनीहरूले सावित गर्न सकेनन् भने, निजामती सेवा ऐनमा संशोधन गरेर ‘हायर एन्ड फायर’ (नियुक्ति र बर्खास्ती) को नीति अपनाउनुपर्छ ।’
यद्यपि, फेरि पनि राम्रालाई होइन हाम्रालाई खोज्ने काम चाहिँ हुन नहुनेमा उनले सचेत गराएका छन् । फेरि दुई/तीन वर्षपछि ‘सरकार अस्थायी भयो’ भन्ने कुरा सुन्न कोही इच्छुक नरहेको चर्चा गर्दै उनले अहिलेको जनादेशले पूरापूर पाँच वर्ष सरकार चलाउने वातावरण बनाउनुपर्ने बताएका छन् ।
पाँचै वर्ष सरकार चलाउनका लागि निजामती कर्मचारी र प्रहरीको साथ महत्वपूर्ण हुने भन्दै उनले उक्त अन्र्वार्तामा भनेका छन्, ‘उहाँहरूले पाँचै वर्ष चलाइदिनुस् । त्यसका लागि संयन्त्र (निजामती सेवा, प्रहरी) को साथ चाहिन्छ । अहिले प्रहरीको मनोबल अत्यन्त खस्किएको छ, तैपनि उनीहरूले निर्वाचन सम्पन्न गराए । त्यसैले नयाँ सरकारले सुरूमै सुरक्षा निकाय र प्रशासनको मनोबल बढाउने काम गर्नुपर्छ ।’

FACEBOOK COMMENTS