काठमाडौं । दि निलय होटल्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा (वार्षिक साधारण सभा) धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको छ। सभाले कम्पनीको भावी विस्तार र दीर्घकालीन विकासका लागि महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सर्वसम्मतिले पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ।
यस सभाको विशेष आकर्षणको रूपमा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गरेको छ। कम्पनीको भावी विस्तारका लागि आवश्यक पूँजी संकलन, ऋण व्यवस्थापन, रणनीतिक साझेदारी र आवश्यकता अनुसार अन्य कम्पनीहरूसँग मर्जर वा प्राप्ति (अधिग्रहण) गर्ने जस्ता दूरगामी महत्वका प्रस्तावहरू समेत सभाले अनुमोदन गरेको छ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले होटलको स्थापनादेखि हालसम्मको प्रगति, वित्तीय अवस्था र आगामी रणनीतिक योजनाबारे विस्तृत जानकारी दिए अध्यक्षले होटल निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । कम्पनीले ’चारतारे’ स्तरको वर्गीकरण प्राप्त गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार विकास गरिरहेको समेत उनले प्रष्ट पारे।
नेपालको पर्यटन क्षेत्रमा उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्न प्रतिबद्ध दि निलय होटल्स लिमिटेडले स्थानीय रोजगारी सिर्जना र दिगो पर्यटन अभ्यासलाई प्रवद्र्धन गर्ने आफ्नो लक्ष्यलाई पुन: दोहोर्याएको छ। यस कार्यक्रमले धादिङको पर्यटन विकासमा समेत नयाँ इँटा थप्ने विश्वास लिइएको छ।
