काठमाडौँ। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी ज्यान गुमाएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार आरोहीको शव संकलन गरी बेस क्याम्प ल्याइएको छ।
निम्स पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन्। उनका अनुसार निम्स पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै कठिन र जोखिमपूर्ण उद्धारपछि बेस क्याम्प ल्याइएको हो।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच सम्पन्न उद्धार अभियानको नेतृत्व वरिष्ठ आरोही मिङ्मा जीले गरेका थिए। उनलाई सिरबाज खानसहितको उद्धार टोलीले सहयोग गरेको थियो।