काठमाडौँ । सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।
म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेलमैदानमा मङ्गलवार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका दुवै टिम विभागीय हुन् । सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३ का विरुद्ध २५ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमशः २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित गर्यो ।
सशस्त्रको कप्तानी निरुता ठगुल्ना र बागमतीको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्तानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अङ्कमा पराजित गर्यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् ।
तेस्रो स्थानका लागि बुधवार बिहान १० बजे बागमती र गण्डकीबिच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । यसै गरी सशस्त्र र पुलिसबिच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ ।
असोज २७ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए ।
FACEBOOK COMMENTS