काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले भने , “हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौँ भनेर गम्भीर ढङ्गले सोच्नु आवश्यक छ ।”मन्त्री शाहले हरेक जीवजन्तु र बाली संरक्षण गर्ने नीति लिएर सबैलाई समान रुपले संरक्षण गर्नुपर्नेमा जोड दिँदै कृषि तथा पशुपन्छी विकासको कामलाई सकारात्मक रूपमा अगाडि बढाइने बताए ।
मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले हरेक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेर नेपालको कृषि क्षेत्रमा आफ्नो मौलिकता जगाउने काम भएको बताए । “नेपालको कृषि क्षेत्रमा ४० प्रतिशतभन्दा बढी जैविक विविधता ह्रास भएर गइसकेको छ, अब पनि हामीले जैविक विविधताको संरक्षण गर्न सकेनौँ भने हाम्रो अगाडि ठूलो चुनौती खडा हुन्छ”, उनले भने ।
त्यस्तै मन्त्रालयका अर्का सचिव डा दीपककुमार खरालले मानव जातिलाई दीर्घकालसम्म सहज बनाउन जैविक विविधताको संरक्षण आवश्यक भएको बताए । “कृषक समुदाय जैविक विविधता संरक्षणको प्रथम विन्दु भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर नीति निर्माण गरी संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने छ”, उनले भने । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीले कृषिमा जैविक विविधताको संरक्षण, प्रवद्र्धनका साथसाथै अधिकतम सदुपयोग गर्नुपर्ने बताए ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९का बारेमा, राष्ट्रिय जिन बैंकका प्रमुख डा बालकृष्ण जोशीले जैविक विविधता संरक्षण, अनुसन्धान र विकासमा नार्कद्वारा हासिल उपलब्धिका बारेमा तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक सुवोध खनालले विश्वविद्यालयमा कृषि जैविक विविधता अध्ययन-अध्यापन, अनुसन्धान एवं हासिल उपलब्धिका बारेमा प्रस्तुति गरेका थिए ।
FACEBOOK COMMENTS