आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई मोटर्सको कार्यकारी निर्देशक हुन् निशान ढकाल । उनी आईएमई मोटर्सका कार्यकारी निर्देशक मात्र नभई नेपाली अटोमोबाइल उद्योग क्षेत्रमा क्रियाशील युवा पुस्ताका प्रतिनिधि समेत हुन् । उमेरले भर्खरै २४ टेकेका ढकालले बेलायतको लण्डनस्थित युनिभर्सिटी अफ वेस्ट मिनिस्टरबाट अन्डर ग्राजुएट तथा अमेरिकाको क्यालिफोर्नियास्थित हल्ट बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेका छन् । उनले द ब्रिटिश कलेजबाट एमबीए समेत गरेका छन् ।
पारिवारिक पृष्ठभूमि (आफ्नो बुबा चन्द्र ढकाल) को विरासतलाई थप मलजल गर्दै आफ्नो योग्यता र क्षमतालाई प्रमाणित गर्न दिनरात तल्लिन छन् । त्यसैले त उनले आईएमई ग्रुपकै लागि नयाँ बनिरहेको व्यवसाय आईएमई मोटर्सलाई नयाँ गति र उचाई दिने चुनौतीपूर्ण कामको नेतृत्वदायी जिम्मेवारी लिएका छन् । हुन त आईएमई मोटर्सले छोटो अवधिमा उल्लेख्य प्रगति गरेको छ । तर, त्यसलाई जोगाउँदै थप उचाई दिनुपर्ने चुनौती अहिले निशान ढकालको काँधमा छ ।
नेपाली बजारमा उपलब्ध २५१८ मोडलको दशचक्के टिपर निकै नै लोकप्रिय सवारी साधन हो । यो भन्दा ठूलो १२ चक्के, १४ चक्के ट्रक पनि नेपाली बजारमा उपलब्ध छन् भने २२ चक्के ट्रक पनि भित्र्याउने तयारीमा आईएमई मोटर्स छ । अशोक लेल्यान्डका बस, ट्रक र टिपर, पिकअप र एस्कर्ट्सका हेभी इक्विपमेन्टहरूको बिक्रीवितरणमा राम्रो (दोस्रो) स्थान बनाएको आईएमई मोटर्सको अहिलेको अवस्था, भावी योजना र विभिन्न व्यावसायिक पाटोहरूबारे कर्पोरेट खबरले कुरानी गरेको छ । प्रस्तुत छ, ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश–
कमर्सियल भेइकलको आयात र बिक्रीको पहिचान बनाएको आईएमई मोटर्सले के–कस्ता सवारी साधनहरू बिक्रीवितरण गर्दै आएको छ ?
अहिले हामीले दुईवटा ब्राण्ड अशोक लेल्याण्ड र एस्कर्टसका विभिन्न उत्पादनहरूको नेपालमा बिक्रीवितरण गर्दै आएका छौँ । अशोक लेल्याण्डका कमर्सियल भेइकल र एस्कर्टसका कन्सट्रक्सन तथा हेभी इक्वेपमेन्ट भेइकलहरू हामीले उपलब्ध गराउँदै आएका छौँ । अशोक लेल्याण्डमा चारवटा सेगमेन्ट बस, ट्रक, टिपर र पिकअप छन् भने एस्कर्ट्समा तीनवटा सेगमेन्ट क्रेन, ब्याकहो लोडर र सोइल कम्प्याक्टर हामीसँग छन् ।
नेपाली बजारमा कमर्सियल भेइकल र हेभी इक्वेपमेन्टको आयात र बिक्रीको अवस्था कस्तो छ ?
हामी अहिले कमर्सियल र हेभी इक्वेपमेन्टको मार्केटमा छौँ । अशोक लेल्याण्डका बस सेगमेन्टहरू राम्रो बिक्री भइरहेका छन् भने अरुको अवस्था ठिकै छ । तर, हेभी इक्वेपमेन्टको अवस्था निकै खराब बन्दै गइरहेको छ । अशोक लेल्याण्डका बस सेगमेन्टचाहिँ हाम्रो सबैभन्दा धेरै बिक्री हुने सेगमेन्ट हो । यसको बिक्री राम्रो छ ।
हेभी इक्वेपमेन्टको बिक्री घट्नुको कारण के हो ?
मुलुकको आर्थिक अवस्था राम्रो छैन । सरकारले कन्ट्रयाक्टर (ठेकेदार) हरूको पैसा भुक्तानी गर्न सकेको छैन । जसका कारण साइटहरू बन्दप्राय: छन् भने नयाँ साइट क्रियट गर्न समस्या छ । यस्तो अवस्थामा हेभी इक्वेपमेन्टको आवश्यकता नै घटेको छ भनेपछि बिक्री त स्वाभाविक रूपमा घट्ने नै भयो । यसको असर समग्र अर्थतन्त्र र अटोमोबाइल क्षेत्रमा स्पष्ट परेको छ । समग्रमा अटोमोबाइलको मार्केट ६० प्रतिशत भन्दा तल झरेको मेरो बुझाइ छ । यदि हामीले पहिला प्रतिमहिना १०० वटा गाडी बेच्थ्यौँ भने अहिले ३०–४० वटामा झरेको छ । कन्स्ट्रक्सन इक्वेपमेन्टको कुरा गर्नुहुन्छ भने त बिक्री ठप्पै छ भन्दा फरक पर्देन । यस्तो सूचकले पूरै अटो उद्योग प्रभावित छ भन्ने देखाउँछ । तर, यो अवस्थामा छिट्टै सुधार आउनेछ भन्ने अपेक्षा हामीलाई छ ।
कमर्सियल भेइकल बिक्रीवितरणको हिसाबमा आईएमई मोटर्स कुन स्थानमा छ ?
नेपाली अटो इन्डष्ट्रीमा बिक्रीका हिसाबले अहिले आईएमई मोटर्स दोस्रो स्थानमा छ । हामीले यो व्यवसाय गरेको ५–६ वर्षको अवधिमै दोस्रो नम्बरमा आउनु र बीसौँ–तीसौँ वर्षदेखि यो व्यवसायमा रहनुभएकाहरूसँग सँगसँगै हिँड्न पाउनुमा खुसी पनि छौँ । अब हामी कमर्सियल भेइकलको उद्योगमा छिट्टै नै पहिलो स्थानमा उक्लिने तयारीमा छौँ । अशोक लेल्याण्ड संसारभरिमा चौथो ठूलो म्यानुफ्याक्चरिङ उद्योग हो । नेपालमा बस सेगमेन्टमा करिब ९० प्रतिशत मार्केट शेयर हाम्रो छ । काठमाडौंबाट पूर्वपश्चिम छुट्ने अधिकांश बसहरू अशोक लेल्याण्डकै हुन् ।
निजी सवारीको बढ्दो प्रयोग, विभिन्न किसिमका प्रविधिको विकाससँगै सार्वजनिक प्रकृतिका बसहरूको व्यापार त घटिरहेको भन्ने सुनिन्छि नि ?
बिक्री घटेको कुरा सत्य हो, तर यसका विभिन्न कारणहरू छन् । जस्तो कोभिडको समयमा सामाजिक दूरी कायम गर्नुपर्ने सन्दर्भमा धेरैले साना र निजी सेगमेन्टका सवारी किन्नुभयो । त्यसमा पनि डिजेल र पेट्रोलको भन्दा विद्युतीय सवारीको ग्राफ उच्च देखिन्छ । यसअघि नेपालमा तरलताको अभाव देखिएको थियो र अहिले समग्र आर्थिक अवस्था नै समस्याग्रस्त छ । यस्तो बेलामा बिक्री घट्नु स्वाभाविक कुरा हो । आशा गरौँ, स्थिति सुधार भएसँगै बिक्री पनि बढ्ने छ ।
अहिले त बिक्री पछिको सर्भिसलाई ग्राहकहरूले महत्व दिएको पाइन्छ । आईएमई मोटर्सले यो सुविधालाई कसरी व्यवस्थापन गरिरहेको छ ?
कमर्सियल होस् वा हेभी सेगमेन्ट । आफ्टर सेल्स सर्भिसलाई ग्राहकले धेरै प्राथमिकता दिनुभएको छ । सँगसँगै ब्राण्डहरूबीच प्रतिस्पर्धा पनि देखिएको छ । जता सर्भिस राम्रो छ त्यतै ग्राहक जाने अवस्था र उहाँहरूको मनोभावनालाई कदर गर्दै आईएमई मोटर्सले सुरूवातदेखि नै कल सेन्टर सञ्चालन गर्दै आएको छ । कल सेन्टरले नै गाडीहरूको सर्भिसिङ टाइमको अपडेट गर्ने तथा अन्य धेरै डाटाहरू सङ्कलन गरी कार्यान्वयनमा निरन्तर लगिरहेको छ । साथै हाम्रो कल सेन्टरमा आउने गुनासा तथा सुझावहरूलाई पनि हामीले यथाशक्य सम्बोधन गर्ने गरेका छौँ । यसैगरी हामीले शीघ्र सर्भिसप्रति प्रतिबद्ध रहँदै अनसाइट्स सर्भिस पनि उपलब्ध गराइरहेका छौँ । यसले कसैलाई बाटोमा समस्या पर्यो भने समाधानका निम्ति महत्वपूर्ण भूमिका खेल्दछ ।
आईएमई मोटर्सको आउटलेट र सर्भिस सेन्टरहरू कहाँ–कहाँ छन् ?
नेपालभरि अहिले हाम्रो १४ वटा ब्राञ्च र चार वटा डिलहरू छन् । ब्राञ्चको कुरा गर्दाखेरि बिर्तामोड, इटहरी, हेटौँडा, दाङ, नारायणघाट, काठमाडौं, बुटवल, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, महोत्तरी, लहान, रौतहट, भैरहवामा विथ सर्भिस आउटलेटहरू छन् । यी सबै आउटलेटहरू गुणस्तरका साथै काठमाडौंमा जस्तो देख्नुहुन्छ त्यस्तै छन् बाहिर पनि ।
नेपाली बजारमा अशोक लेल्याण्डका बस तथा टिपरहरूले राम्रो बजार लिएको देखिन्छ । के कारणले यो ब्राण्ड लोकप्रिय बन्यो ?
हामीले जुन–जुन सेगमेन्टका सवारी बिक्री गरिरहेका छौँ ती सबै अरुको तुलनामा प्रिमियिम प्रडक्ट हो । यसमा बलियो र गुणस्तरीय उत्पादन, राम्रो माइलेज तथा कष्ट अफ अपरेशन धेरै राम्रो छ । यो कुराले हाम्रा प्रडक्टहरूमा ग्राहकको आकर्षण रहँदै आएको छ ।
समग्र अटो बजार विद्युतीयतर्फ उन्मुख हुन थालेको देखिन्छ । आईएमई मोटर्सले विद्युतीय सवारीको क्षेत्रमा आफूलाई कसरी अघि बढाउने सोच बनाएको छ ?
हामी त्यो सोचमा पनि छौँ, तर अशोक लेल्याण्डकै ब्राण्डमै होइन । यद्यपि, अशोक लेल्याण्डकै सब्सिडारी कम्पनी छ भारतमा । उहाँहरूले स्वीच मोबिलिटी नामको ब्राण्डबाट टायअप गरेर त्यससम्बन्धी काम गरिरहनुभएको छ । तर, त्यो त्यति सफलीभूत भएको छैन भन्ने सूचना हामीलाई छ । नेपालमा ईभी सेगमेन्टको पनि प्रतिस्पर्धा उच्च भइसकेको छ । यस्तो अवस्थामा जुन पायो त्यही गाडी यहाँ ल्याएर काम छैन । ल्याउँदा राम्रो ल्याउनुपर्ने हुन्छ । मलाई लाग्छ त्यसले लोड क्यापासिटी र उच्च प्रविधिमा अपग्रेड गर्नेछ र हामीले ल्याउन पाउनेछौँ ।
विद्युतीय सेगमेन्टमा अशोक लेल्याण्डबाहेकका प्रडक्ट ल्याउन सकिँदैन र ?
हामीले प्रयास त गरिरहेकै हुन्छौँ । तर, बिग्रदो आर्थिक अवस्थाकाबीच ल्याउने कि नल्याउने भन्ने द्विविधा पक्कै भएको छ । नेपाली अर्थतन्त्रमा सुधार आएपछि त्यसबारे अझ गहन ढङ्गले सोच्न सकिएला । अन्यथा हाम्रो मार्केटमा प्रतिस्पर्धा गर्नसक्ने प्रडक्ट नपाएसम्म ल्याइहाल्ने स्थिति छैन । अर्को कुरा नेपालमा सरकारले आफ्नो नीति परिवर्तन गरिरहन्छ । अहिले विद्युतीय गाडीमा ट्याक्स केही घटेको भए पनि आउँदा दिनमा बढाउन सक्ने सम्भावना प्रचुर देखिन्छ । यसले पनि बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । यी सबै कुरामा हामी गम्भीरतापूवर्क सोचिरहेका छौँ ।
आईएमई मोटर्सले आयात तथा बिक्री गर्ने विभिन्न प्रकारका भेइकलहरूको मूल्य रेञ्ज के–कस्ता छन् ?
अहिले हामीसँग अशोक लेल्याण्डका २२ लाख रूपैयाँदेखिका मोडलहरू उपलब्ध छन् । मलाई लाग्छ अहिलेको बजारमा २२ लाख रूपैयाँ धेरै सस्तो मूल्य हो । सार्वजनिक यातायातको मूल्य ४० देखि ५० लाख रूपैयाँसम्म पर्छ भने ९०–९५ लाख रूपैयाँसम्मका गाडीहरू हामीसँग छन् । अझ स्पेशल भेइकल लिनुहुन्छ भने एक करोड भन्दा माथिका रेञ्जहरू पनि हामीसँग छ । हामीले आफ्ना ग्राहकहरूलाई सहज फाइनान्सिङ सुविधा पनि दिएका छौँ । हाम्रो आफ्नै हायर पर्चेज कम्पनी छ । त्यहाँबाट ब्याज केही महङ्गो भए पनि सहज तरिकाबाट फाइनान्सिङ सुविधा पाइरहनुभएको छ ।
अटोमोबाइल क्षेत्रलाई कसरी उठाउन सकिएला ?
अहिलेको आर्थिक स्थितिले अवस्था असामान्य बनेको सबैलाई जगजाहेर छ । नाडा अटोमोबाइल एसोसिएनबाट पनि व्यवसाय प्रवर्द्धनका लागि पहल र लविङहरू भइरहेकै छन् । तर, हामीले चाहेजस्तो मार्केट बनिरहेको छैन । अब अटो उद्योगलाई उठाउने हो भने नेपाल सरकारले यसअघि बजेटमा लिएको ‘र मेटिरियल’ (ढुङ्गा गिट्टी) निर्यातको नीतिलाई कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने मलाई लागेको छ । वातावरणीय प्रभावलाई जोगाउँदै यो विषय कार्यान्वयनमा ल्याउन सकियो भने त्यहाँ प्रयोग हुने इक्वेपमेन्टको बिक्रीहरूबाट केही हदसम्म यो व्यवसाय उठाउन सकिने मैले देखेको छु ।
(आईएमई मोटर्सको कार्यकारी निर्देशक निशान ढकालसँग कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योती जीसीले कुराकानी गरेका हुन्)
FACEBOOK COMMENTS