काठमाडौं । एनएमबि बैंकले पर्यावरण संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्रीन सेभिङ्स डिपोजिट’ अर्थात् ‘हरित बचत खाता’ योजना सुरु गरेको छ। यो बचत खाताले व्यक्ति र संस्थाहरूलाई वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउन सहयोग गर्ने बैंकले जनाएको छ।
यो खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिको संरक्षण गर्ने हरित परियोजनाहरूमा मात्र लगानी गरिनेछ। ग्राहकहरूले यस खाताबाट आफ्नो लगानीमा आकर्षक प्रतिफल प्राप्त गर्नुका साथै हरित ऋणहरूमा विशेष छुटको सुविधा पनि पाउनेछन्।
एनएमबि बैंकले यो योजनामार्फत जलवायु परिवर्तनविरुद्ध लड्न र नेपाललाई दिगो भविष्यतर्फ डोर्याउन सहयोग पुर्याउने लक्ष्य राखेको छ। बैंकले सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषण लक्ष्यलाई समर्थन गर्न प्रतिबद्धता जनाएको छ। हरित बचत खाता खोलेर ग्राहकहरूले पनि यो अभियानमा सहभागी भई आफ्नो प्रतिबद्धता देखाउन सक्नेछन्।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ। यो नयाँ योजनाले पर्यावरणमैत्री बैंकिङको अवधारणालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS