काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् ।
निर्वाचनमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बुधवार बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए ।
निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।
बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मङ्सिर १ र २ गते तीन वटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।
FACEBOOK COMMENTS