काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालका निर्जीवन बिमा कम्पनीहरूले झण्डै ४० अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क सङ्कलन गरेका छन् ।
नेपाल बिमा प्राधिकरणले जेठ मसान्तसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार हाल १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीसहित जम्मा १८ कम्पनीहरू सक्रिय छन् ।
यी कम्पनीहरूले संयुक्त रूपमा हालसम्म ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँभन्दा बढी बिमा शुल्क उठाएका छन्।
योमध्ये ठूलो हिस्सा १४ निर्जीवन बिमा कम्पनीहरूले ३९ अर्ब ३ करोड रुपैयाँभन्दा बढी संकलन गरेका छन् भने ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरूले करीब ८५ करोड रुपैयाँ बराबर बिमा शुल्क उठाएका छन्।
शिखर इन्सुरेन्स कम्पनी सबैभन्दा धेरै बिमा शुल्क आर्जन गर्ने कम्पनी बनेको छ। उसले ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। त्यसपछि दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्सुरेन्स रहेको छ, जसले ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी संकलन गरेको छ।
यस अवधिमा सबैभन्दा कम बिमा शुल्क उठाउने कम्पनी नेसनल इन्सुरेन्स कम्पनी बनेको छ, जसले करीब ९७ करोड रुपैयाँ मात्रै संकलन गरेको छ। लघु निर्जीवन बिमा कम्पनीहरूमा नेपाल माइक्रो इन्सुरेन्स अगाडि देखिएको छ, जसले २३ करोड ७९ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क संकलन गरेको छ।
यी १८ कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिनामा कुल २९ लाखभन्दा बढी बिमा पोलिसी जारी गरेका छन्।
FACEBOOK COMMENTS