नेपालका निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२-०८३ मा ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्।
यो अघिल्लो आर्थिक वर्ष २०८१-०८२ को ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको तुलनामा १५.१२ प्रतिशत बढी हो।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २९ लाख ६६ हजार १९५ वटा बीमालेख जारी गरेका छन्। अघिल्लो आर्थिक वर्षमा २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी भएका थिए। बीमालेख संख्या र कुल बीमाशुल्क दुवैमा उल्लेखनीय वृद्धि भएको प्राधिकरणले जनाएको छ।
व्यवसायको आधारमा शिखर इन्स्योरेन्स लगातार पहिलो स्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्ष ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यसको व्यवसाय ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको व्यापार १२.३८ प्रतिशतले बढेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ। कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा ८.४० प्रतिशतले बढेको छ।
त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्स ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्कसहित तेस्रो स्थानमा रहेको छ। कम्पनीले ३१.०६ प्रतिशतको उल्लेखनीय व्यापार वृद्धि हासिल गरेको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ५५ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ तथा ओरियन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन्।
वृद्धिदरका आधारमा भने एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको व्यापार ३७.३० प्रतिशतले बढेको छ। त्यसपछि हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३१।०६ प्रतिशत, नेसनल इन्स्योरेन्सको २१.५८ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सको २०.२४ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १७.७३ प्रतिशत वृद्धि रहेको छ।