काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ ।
उनको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
FACEBOOK COMMENTS