काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।
विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जानकारी दिएको छ । मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नी र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको हस्पिटलले जनाएको छ ।
विज्ञ चिकित्सक डा.राकेश बर्मा र डा. आर.के. अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपणको काम गर्ने अस्पतालले जनाएको छ । पहिलो पटक नर्भिकमा मृगौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको अस्पतालले जनाएको छ । मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मृगौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने अस्पतालको भनाइ छ ।
अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिएको र त्यसका लागि प्रक्रिया पनि अगाडि बढाइसकेको छ । नर्भिक अस्पताल सन् १९९३ वर्षदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको स्वास्थ्य संस्था हो। हाल नर्भिकमा देशकै पहिलो र एक मात्र जैनेटिक ल्याब सहितको आइभिएफ (टेस्टट्यूब बेबी सेन्टर) समेत सञ्चालनमा छ र अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एण्ड इर्मा सेन्टर समेत केही महिनाअघिदेखि सञ्चालनमा आएको छ ।
यस्तै, नर्भिकमा विगत लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजी टिमले नि:शुल्क परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । यसबाहेक सबै खालका स्वास्थ्य समस्याको उपचार हुने यस अस्पतालमा अत्याधुनिक उपकरण र देशमै चिनिएका विज्ञ चिकित्सकहरुले सेवा दिँदै आएका छन् ।
FACEBOOK COMMENTS