काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछाएको विराटनगर किंग्स १४।१ ओभरमा अलआउट हुदै ७८ रन मात्र बनाएको थियो । विराटनगरका लागि फाफ डू प्लेसीसले सर्बाधिक ३६ रन बनाए भने मर्चेन्ट डि लांगेले १५ र बसिर अहमदले १२ रन बनाएका थिए । विराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोरा, स्कट कुग्लाइन र हरमित सिंहले २-२ विकेट लिए भने हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६३ रन बनाए भने शेल्डन ज्याक्सन र आरिफ सेखले २०-२० रन बनाएका थिए । त्यस्तै हरमित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तर अहमदले १० रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लांग र प्रतिस जिसीले २-२ विकेट लिएका थिए भने सुर्य तामाङ र साम हीजलेटले एक एक विकेट लिएका थिए ।
अब सुदूरपश्चिमले आगामी शनिबार हुने फाइनल खेलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्ने छन् ।

त्यस्तै यस खेलमा पराजित भएको विराटनगरले फाइनलमा पुग्ने एक अवसर पाउने छ । विराटनगरले अब लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीचको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्ने छ ।

FACEBOOK COMMENTS