काठमाडौं । मंसिर मसान्तसम्म चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको मंसिरमा ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा १४० अर्ब २३ करोड रुपैयाँ बचतमा रहेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३२ करोड २२ लाखले घाटामा रहेको रहेकोमा अहिले १ अर्ब ५ करोडले बचतमा रहेको छ ।
मंसिर मसान्तसम्म पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले घटेर २ अर्ब ८७ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा छ ।
FACEBOOK COMMENTS