काठमाडौं । माघ १ देखि बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको छ । आज बिहीबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
परिपत्रमा ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने छ’ भन्ने उल्लेख छ ।
यस्तै सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने उल्लेख छ ।
ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण निज ग्राहककै रहे नरहेको सूनिश्चित गर्न निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नुपर्नेछ ।
FACEBOOK COMMENTS