काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
बैंकले ९१ दिन र १८२ दिन अवधिका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ । चैत २० गते जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ । यो असार १९ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो असोज १५ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्षको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ ।
FACEBOOK COMMENTS