काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् । त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति गत जेठमा चार दशमलव १७ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ४८ प्रतिशत छ ।
गत जेठ मसान्तसम्ममा समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ३९ करोडले बचतमा रहेको छ भने पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ४६ करोड कायम भएको छ । यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी रु आठ अर्ब १६ करोडले धनात्मक रहेको छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति रु चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ ।
FACEBOOK COMMENTS