राष्ट्र बैंकले छ अर्ब ६० करोड लगानी गर्ने
कर्पोरट खबर
7:32 am, शनिबार, मंसिर २७, २०८२
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको छ अर्ब ६० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक बर्षका लागि लगानी गर्न लागिएकाले यही मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा पाँच अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैंकमा ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ३३ करोड बराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेकोलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।
त्यसैगरी केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको व्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ ।
सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८० करोड, ‘ख’ वर्गका विकास बैङ्कमा १५ करोड र वित्त कम्पनीमा पाँच करोड बराबर लगानी गर्न लागिएको हो । यही मङ्सिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS