काठमाडाैँ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट निरन्तर तरलता प्रशोधन गरिरहेको छ । यसै सिलसिलामा केन्द्रीय बैंकले बुधबार थप ४० अर्ब रुपियाँ तरलता बजारबाट प्रशोचन गर्ने भएको छ ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ । २१ दिनका लागि खरिद गरिने निक्षेप संकलन उपकरणको आज २ बजे बोलकबोल हुने र आजै खरिद बिक्री हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानीको उपयुक्त क्षेत्र नभेट्दा तरलता थुप्रिन पुगेको छ । पुस २७ गतेसम्मको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६६ खर्ब ९३ अर्ब रुपियाँ निक्षेप संकलन गर्दैगर्दा यता कर्जा लगानी मुस्किलले ५३ खर्ब ८७ अर्ब रुपियाँ भएको छ ।
समीक्षा अवधिमा जम्मा ७९.२० प्रतिशत मात्र कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानी योग्य रकम रहेको छ ।
FACEBOOK COMMENTS