काठमाडौँ । काठमाडौंमा ‘सम्पत्ति शुद्धीकरण विरोधी र आतंकवादको वित्तपोषणविरुद्ध लड्ने समसामयिक मुद्दाहरू’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले सम्मेलन आयोजना गरेको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्रा.डा विश्वनाथ पौडेलले नेपाल हाल एफएटीएफको ‘ग्रे-लिस्ट’मा रहेको सन्दर्भमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बैंकिङ, बीमा, पुँजीबजार, सहकारीलगायत सबै सरोकारवाला निकायको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । उनले ग्रे-लिस्टलाई चुनौतीका साथै आन्तरिक संयन्त्र सुदृढीकरण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।
बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले नियामकीय तथा सुपरिवेक्षकीय अभ्यास मजबुत बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र मङ्गोलियाका विज्ञहरूको सहभागिता रहेको छ । पहिलो दिन नेपालमा एएमएलरसीएफटीको वर्तमान अवस्था र व्यापारआधारित सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल सम्पन्न भएको थियो । दोस्रो दिन नियामकीय उपकरण, ग्रे-लिस्टबाट बाहिरिने अनुभव तथा वित्तीय जानकारीको प्रयोगसम्बन्धी विषयमा थप कार्यपत्र र छलफल हुने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल ग्रे-लिस्टमा परेको अवस्थालाई मध्यनजर गर्दै कानुनी, नीतिगत तथा कार्यान्वयन पक्ष सबलीकरणका लागि सम्मेलन परिणाममुखी हुने अपेक्षा गरिएको छ ।

FACEBOOK COMMENTS