काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ठगी र अपराधका घटना बढ्दै गएको भन्दै सचेत गराएको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै अनधिकृत कारोबार भएको थाहा भएमा त्यसबारे जानकारी गराउन अनुरोध गरेको हो ।
डिजिटल वित्तीय सेवाको बढ्दो आधुनिकतासँगै यसको माध्यमबाट हुने ठगी र अपराधका शैली पनि फेरिँदै गएकोतर्फ राष्ट्र बैंकले सजगता अपनाउन भनेको हो । आफू वित्तीय ठगीमा परेको वा आफ्नो खाताबाट अनधिकृत वित्तीय कारोबार भएको भेटिएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराई सम्भावित थप नोक्सानीबाट जोगिन केन्द्रीय बैंकले अनुरोध गरेको छ ।
आफ्नो मोबाइल र ई–मेलमा आएको ओटीपी आफ्नो व्यक्तिगत उपकरण (मोबाइल, कम्प्युटर, एटीएम आदि) तथा ई–मेलको पासवर्ड कसैलाई शेयर गरेको अवस्थामा त्यस्तो व्यक्तिले बैंक खाताबाट अनधिकृत कारोबार गर्न सक्ने भएकाले त्यसबारे सजगता अपनाउन भनिएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि ‘कस्टमर सपोर्ट टिम’ को व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाइमा खबर गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
वित्तीय ठगीमा संलग्न हुनेहरूले छोटो समयमा धेरै खाताहरूमा रकमान्तर गर्ने भएकाले जति समय खर्च भयो त्यस्तो कारोबारको पहिचान गर्न त्यति नै कठिन हुँदै जान्छ ।
हेर्नुहोस् नेपाल राष्ट्र बैंकको सूचना–
FACEBOOK COMMENTS