काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सहुलियतपूर्ण कर्जा लिनेहरूमा विदेशबाट फर्केका, शिक्षित युवा र दलित समुदायका युवाको सहभागिता नगन्य देखाएको छ ।
लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ जिल्लामा केन्द्रित भइ गरिएको अध्ययनले सबैभन्दा बढी महिला उद्यमशिलता र कृषि तथा पशुपन्छी पालन व्यवसायमा करीब ९९ प्रतिशत कर्जा गएको देखाएको छ ।
२०७८ कात्तिक सम्म १ लाख ३३ हजार ९३० जना ऋणीले २ खर्ब ३७ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ बढी सहुलियतपूर्ण कर्ज लिएका छन् । त्यो मध्ये बाँके, बर्दिया र दाङमा ५ हजार ७२९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएको अध्ययनले देखाएको छ ।
जसमध्ये बाँकेमा १ हजार ८५८, बर्दियामा १ हजार ३२२ र सबैभन्दा बढी दाङमा २ हजार ५४९ व्यक्तिले सहुलियतपूर्ण कर्जा लिएको देखिन्छ । यसमध्ये व्यवसायिक कृषि तथा पशुपन्छी पालन कर्जा र महिला उद्यमशिल कर्जा लिनेको संख्या करीब ९९ प्रतिशत रहेको छ । यसमा क्रमश २ हजार ४९३ र ३ हजार १६५ जनाले कर्जा लिएका छन् ।
दलित समुदाय व्यवसाय कर्जा लिनेको संख्या पनि ४१ जना मात्रै छ । विदेशबाट फर्केका युवा परियोजना कर्जा लिने १४ जना, शिक्षित युवा स्वरोजगार कर्जा लिने ११ जना र उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा लिने जम्मा ५ जना रहेका छन् ।
ुबाँके, बर्दिया र दाङ जिल्लामा सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०७९ु मा सहुलियतपूर्ण कर्जा लक्षित वर्गमा पुगेको दाबी गरिएको छ ।
अध्ययनमा ४९ दशमलव ७२ प्रतिशत सहभागीले २० लाख रुपैयाँ भन्दा माथि लगानी गरेको देखिएको छ । सहभागी मध्ये ८३ दशमलव ७१ प्रतिशतले सहुलियतपूर्ण कर्जाबाट मात्रै व्यवसाय गरेको पाइयो भने १६ दशमलव २९ प्रतिशत सहभागीले मात्रै अन्य शीर्षकको कर्जा लिएर पनि सोही व्यवसायमा लगानी गरेको पाइएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS