काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै पुँजीको सीमा बढाएको छ ।
राष्ट्र बैंकले नयाँ नीति मार्फत १ करोड पुँजीलाई बढाएर ५ करोड पुर्याएको छ ।
बिगतमा भुक्तानी कार्ड बाहेकका अन्य उपकरण मार्फत भुक्तानी सेवाको काम गर्न १ करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्नेमा अब भने ५ करोड रुपैयाँ आवश्यक पर्ने छ । यो सँगै इसेवा, खल्ती, आईएमई पे जस्ता संस्थाले पुँजी बढाउनु पर्ने छ ।
कार्डसहित अन्य उपकरणमार्फत भुक्तानी सेवा दिने संस्थाले २५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नु पर्ने भएको छ । यसअघि ५ करोड रुपैयाँ चुक्ता पुँजी हुँदा यस्तो अनुमति दिने गरिएको थियो । भुक्तानी प्रणाली सञ्चालक बन्न ४० करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्ने छ ।
नेपाल बाहिर समेत भुक्तानी कारोबार हुने गरि सेवा दिने भुक्तानी प्रणाली सञ्चालकको पुँजी २५ करोड रहेकोमा यसलाई बढाएर ८० करोड रुपैयाँ पुर्याइएको छ ।
FACEBOOK COMMENTS