काठमाडौं । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको ४२ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने भएको छ ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकाश कोषअन्तर्गत सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको छ ।
केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड र उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
जसमा कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोडमध्ये १९ करोड २० लाख वाणिज्य बैंक, ३ करोड ६० लाख राष्ट्रियस्तरका विकास बैंक र १ करोड २० लाख रुपैयाँ वित्त कम्पनीको मुद्दती निक्षेपमा राख्न लागेको छ ।
यस्तै उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाख मध्ये १४ करोड ८० लाख वाणिज्य बैंकमा, २ करोड ७७ लाख ५० हजार राष्ट्रियस्तरका विकास बैंक र ९२ लाख ५० हजार रुपैयाँ वित्त कम्पनीको मुद्दती निक्षेपमा राख्ने भएको छ ।
केन्द्रीय बैंकले उक्त रकम चैत १ गतेदेखि २०८० चैत १ सम्म १ वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
उक्त रकम मुद्दती निक्षेपमा राख्न चाहने बैंकले आज बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS