काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्समनी एसडीएन बीएचडीसँगको विप्रेषण कारोबार नगर्न भनेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले म्याक्समनीसँगको विप्रेषण कारोबार प्रतिबन्ध लगाइएको जनाएको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त कम्पनी, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्समनीसँग बक्यौताको भुक्तानी लिने कार्य बाहेक अन्य कुनै पनि कारोबार नगर्न भनेको छ ।
विप्रेषण कारोबारबापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको भन्दै राष्ट्र बैंकले २०७५ मंसिर १२ गते र २०७५ फागुन २ गते परिपत्रमार्फत म्याक्समनीसँगको कारोबारमा प्रतिबन्ध लगाइएको थियो । म्याक्समनीले बक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेपछि राष्ट्र बैंकले २०७६ माघ ५ गते प्रतिबन्ध फुकुवा गरेको थियो।
प्रतिबन्ध फुकुवा गर्दा तोकिएको सर्तहरु पालना नगरेको भन्दै राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि म्याक्समनीसँगको विप्रेषण कारोबार प्रतिबन्ध लगाएको जनाएको छ ।
FACEBOOK COMMENTS