काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् ।
बिपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययनन तथा विकास संस्थापनले आज आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरु’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने धारणा राखे ।
“गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो”, प्रवक्ता डा महतले भने “जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ ।”
आगामी आर्थिक वर्षको बजेट सन्तुलित र अनुशासित हुनुपर्नेमा जोड दिँदै प्रवक्ता डा महतले भने– “बजेट वर्षभरिको आम्दानी र खर्चको विवरण हो । आम्दानी खर्च जुटाउने, स्रोतको सुनिश्चितता हुने र हाम्रा आवश्यकता तथा प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ ।” मौद्रिक नीति र वित्त नीतिलाई लयमा लैजानुपर्ने उनको भनाइ थियो ।
प्रवक्ता डा महतले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च बढाउनेगरी बजेट व्यवस्थापन हुनुपर्ने सुझाव दिनुभयो । देखाउनकै लागि ठूलो बजेट ल्याइने गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “आम्दानी स्रोतको सुनिश्चितता हुनुपर्छ । पुँजीगत खर्च बढाउनुपर्छ, त्यसैले बजेट लोकप्रय हैन अनुशासित हुनुपर्छ । प्राथमिकीकरणका आधारमा बजेट बनाइनुपर्छ ।”
FACEBOOK COMMENTS