भाद्र २७, काठमाडौं । दशैं नजिकिँदै गर्दा धेरैको चासोको विषय हुन्छ राष्ट्र बैंकले कहिलेदेखि नयाँ नोट बाँड्ला ? अब दशैं आउन एक महिना मात्रै बाँकी रहे पनि दशैंका लागि नयाँ नोट सटही कार्य सुरु नभएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलले जानकारी गराएका छन् ।
बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउने तयारी चाहिँ गरिरहेका छौँ । राष्ट्र बैंकले नोट उपलब्ध गराएपछि बैंक तथा वित्तीय संस्थाले सम्भवतः नौरथा लागेपछि वितरण गर्ने बताए ।
उनले नयाँ नोट बाँड्नेबारे राष्ट्र बैंक आन्तरिक छलफलमा रहेको समेत बताए । उनले भने, ‘कोरोना महामारी कायमै रहेका कारण नयाँ नोट कसरी बाँड्ने भन्नेबारे आन्तरिक छलफलमा छौँ । छलफल पछि मुद्रा व्यवस्था विभागले कहिलेदेखि बाँड्ने भन्ने मिति तय गर्छ ।’
अघिल्लो वर्ष नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण नयाँ नोट सटही सुविधा सर्वसाधारणका लागि उपलब्ध गराएको थिएन । सम्भवतः यो साल पनि नोट साट्ने क्रममा हुने भिडभाडलाई मध्यनजर गर्दै गत वर्ष झैँ राष्ट्र बैंकले आफै नोट नबाँड्ने निर्णय गर्न सक्ने संकेत पनि राष्ट्र बैंकले गरेको छ ।
FACEBOOK COMMENTS