काठमाडौं । नेपाली अर्थतन्त्रको विभिन्न पाटाहरूमा काम गर्दै आएको तथा सरकारको आर्थिक सल्लाहकार समेत रहेको नियामक निकाय नेपाल राष्ट्र बैंकले पोडकाष्ट श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ सुरू गरेको छ ।
वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सोमबारदेखि सुरू गरिएको पोडकाष्ट श्रृङ्खलामा परिभाषित विषयहरू र शीर्षकहरूमा केन्द्रित रही सरल भाषामा कुराकानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
पोडकाष्टको सुरूवाती श्रृङ्खलामा ‘मुद्रास्फिति र मौद्रिक नीति’ विषयमा राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठसँग स्मृति मल्लले कुराकानी गरेकी छिन् । राष्ट्र बैंकको आफ्नै युट्युब च्यानल ‘नेपाल राष्ट्र बैंक’मा पोष्ट गरिएको एक घण्टा ३४ मिनेट लामो पहिलो भिडिओ एक दिनमा पाँच हजार भन्दा धेरैपटक हेरिएको छ ।
पोडकाष्ट श्रृङ्खलालाई नियमित गरिने राष्ट्र बैंकले जनाएको छ ।
बजारमा मूल्यमा स्थायित्व राख्न आवश्यक मौद्रिक नीति तथा विदेशी विनिमय नीति तर्जुमा गर्ने, नोट जारी गर्ने र नियमन र सुपरीवेक्षण गर्ने उद्देश्यसहित वि.सं. २०१३ साल वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंकले हाल सरकारको मुख्य आर्थिक सल्लाहकारको भूमिका खेलिरहेको छ ।
साथै, सबै वाणिज्य र विकास बैंकहरू, वित्त कम्पनीहरू र लघुवित्तहरूको मौद्रिक, पर्यवेक्षक र नियामक निकायका रूपमा पनि राष्ट्र बैंकले काम गर्दै आएको छ ।
FACEBOOK COMMENTS