काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएआईसीसी) को निर्वाचनबारे देखिएको विवाद छानबिनका लागि सरकारले समिति बनाएको छ ।
उक्त निर्वाचनलाई लिएर परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी–निवेदनबारे छानबिन गर्न मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चार सदस्यीय समिति बनाएको हो ।
समितिको संयोजकमा महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहान रहेका छन् ।
समितिलाई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवाद र संघको लेखा तथा काम–कारबाहीबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने म्यान्डेट दिइएको छ ।
समितिमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहने छन् ।
एनआरएनए अध्यक्षमा डा. बद्री केसी विजयी भएपछि आरके शर्माले समानान्तर समिति बनाएका छन् ।
शर्मालाई गठबन्धन सरकारले साथ दिँदै आएको छ । शर्मा पक्षले केसीमाथि धाँधली आरोप लगाइरहेको छ । यस्तोमा शर्मा पक्षलाई कांग्रेस र माओवादीसहितका नेताहरूले मान्यता दिँदै भेटघाट गरिरहेको सन्दर्भमा समिति बनेको हो ।
FACEBOOK COMMENTS