काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको टोलीले सिंहदबारमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर संस्थागत गतिविधिहरुबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो । अध्यक्ष श्रेष्ठले बन्दै गरेको एनआरएनए ऐनका बारेमा संस्थागत सुझावहरु हस्तान्तरण गरेका थिए ।
यसैगरी, एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पछिल्लो समयमा गरिरहेको कामबारे जानकारी गराउँदै मन्त्रालयले निर्वाचित कमिटीसँग सहकार्य गर्ने वातावरण बनाउने विषयमा पहल थाल्न पनि आग्रह गरेको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
एनआरएनएले एकता महाधिवेशनबाट पारित भएको काठमाडौं घोषण पत्र कार्यान्वयन र विदेशमा बस्ने नेपालीहरुका मुद्दाहरु समेट्नका लागि मन्त्रीको ध्यानकर्षण गराइएको महासचिव बाबुराम लामाले जानकारी दिए ।
यसैगरी, निर्वाचित कार्यसमितिको विवरण हस्तान्तरण गर्दै विभिन्न निकायहरुमा पत्राचार गरिदिन पनि आग्रह गरिएको थियो । जवाफमा मन्त्री राणाले एनआरएनएको वर्तमान कार्यसमितिसँग सरकारले सहकार्य गरेर अघि बढ्ने बताउँदै माग गरिएका विषयहरु सम्बोधन गर्नका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाइन् ।
FACEBOOK COMMENTS