काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको स्वागत गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार पेस गरेको बजेटलाई एनआरएनए आईसीसीले स्वागत गरेको हो ।
‘बजेटमा गैरआवासीय नेपालीहरूलाई नेपालको धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्थाले विदेशमा बस्ने नेपाली मूलका व्यक्तिहरू र गैरआवासीय नेपाली नागरिकहरूलाई नेपालको पुँजी बजारमा सहभागी हुने अवसर प्रदान गरेको छ । यो व्यवस्थाले विदेशमा रहेका नेपालीहरूको पुँजी नेपालको आर्थिक विकासमा भित्र्याउन र शेयर बजारको गतिशीलता बढाउन महत्त्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ,’ सङ्घका महासचिव बीआर लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो नीतिले बैङ्किङ, पर्यटन, जलविद्युत्, र अन्य क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा एनआरएनएले गरेको छ । यसले नेपालको पुँजी बजारमा तरलता र आर्थिक स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उसको छ । यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ ।
‘बजेटमा विदेशमा रहेका नेपाली नागरिकको हित संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल, गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, र सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्ने तथा सङ्कटमा परेका नेपालीहरूको उद्धारको व्यवस्था गर्ने जस्ता सकारात्मक प्रावधानहरू समावेश गरिएकोमा हामी प्रशंसा गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
यद्यपि, गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालीसरह एनआरएनहरूलाई नेपालमा लगानी गर्न दिने व्यवस्था, श्रमिकहरूको सम्मान, बीमा र सुरक्षा लगायतका केही महत्त्वपूर्ण मुद्दाहरू अझै सम्बोधन हुन बाँकी रहेको एनआरएनले बताएको छ ।
यी मुद्दाहरूलाई सम्बोधन गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाउँदै एनआरएनएले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सङ्घको सधैँ साथ र समर्थन रहने विश्वास दिलाएको छ ।
FACEBOOK COMMENTS