काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । केसीको टिमले संघको १० औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो । एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् ।
केसीले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार, कूटनीतिक नियोग लगायतसँग सहकार्य गर्ने बताएका छन् । त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीहरुको न्यूनतम तलव अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (युके), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया) लाई उम्मेदवार बनाएका छन् । त्यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिमखडा (युके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) ले उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
FACEBOOK COMMENTS