काठमाडौं । नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर ६) बौद्धिक सम्पत्ति तथा व्यवसायिक विश्वाससम्बन्धी व्यवसायिक छलफल आयोजना गरिएको छ।
कार्यक्रममा नेपालस्थित अमेरिकी वाणिज्य संघका सदस्य कम्पनीहरूका ३० भन्दा बढी कानुनी प्रतिनिधि तथा व्यवसायिक नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो।
छलफलमा नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, ट्रेडमार्कको सुरक्षा, नवप्रवर्तन तथा व्यवसायिक विश्वास लगायतका विषयमा विचार–विमर्श गरिएको थियो।
कार्यक्रममा दक्षिण एसियाका लागि अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका बौद्धिक सम्पत्ति प्रतिनिधि शैलेन्द्र भूमरलकर तथा दक्षिण एसियाका लागि वरिष्ठ वाणिज्य विशेषज्ञ एवं बौद्धिक सम्पत्ति नीति सल्लाहकार शिल्पी झा सहभागी थिए।
उनीहरूले विभिन्न व्यवसायीहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूका अनुभव, समस्या र चासोबारे जानकारी लिए।विभिन्न कम्पनीका प्रतिनिधिहरूले ट्रेडमार्कको नक्कल, उपभोक्तामा पर्न सक्ने भ्रम, ब्रान्डको प्रतिष्ठा तथा व्यवसायिक मूल्यको संरक्षण, स्रोत–कोड चोरी, बौद्धिक सम्पत्ति तथा सिर्जनशील उद्योगको संरक्षण, अमूर्त वस्तु तथा सेवामा लाग्ने कर लगायतका विषय उठाएका थिए।

साथै, बौद्धिक सम्पत्तिको संरक्षण तथा कार्यान्वयनमा थप स्पष्टता, पूर्वानुमान गर्न सकिने व्यवस्था, समयमै कारबाही र एकरूपता आवश्यक रहेको उनीहरूको भनाइ थियो।

नेपालस्थित अमेरिकी वाणिज्य संघका अध्यक्ष कैलाश विजयानन्दले भने, “बौद्धिक सम्पत्ति अब केवल कानुनी वा नियामकीय विषय मात्र रहेन। व्यवसायका लागि यो बढ्दो रूपमा विश्वासको विषय बन्दै गएको छ। नवप्रवर्तन गर्न, लगानी गर्न र आफ्नो ब्रान्ड निर्माण गर्न व्यवसायीलाई विश्वासको वातावरण आवश्यक हुन्छ।”

नेपालस्थित अमेरिकी वाणिज्य संघबारे
नेपालस्थित अमेरिकी वाणिज्य संघले नेपालमा सञ्चालनमा रहेका अमेरिकी तथा अन्तर्राष्ट्रिय व्यवसायहरूको प्रतिनिधित्व गर्दछ। संघले व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा रचनात्मक नीतिगत संवादमार्फत अमेरिका–नेपाल व्यवसायिक सम्बन्धलाई थप सुदृढ बनाउन काम गर्दै आएको छ।