काठमाडौँ । बाँकेको नरैनापुरस्थित सुख्खा क्षेत्रको अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार स्थलगत अवलोकन गरेका छन् । लामो खडेरीका कारण धान रोपाइँ गर्न नपाएका किसानको पीडा बुझ्न उनले नरैनापुर गाउँपालिका पुगेर वास्तविक अवस्थाको जानकारी लिएका छन्। विभिन्न वडाको अवलोकन गरेपछि मन्त्री शर्माले तत्काल गर्न सकिने र दीर्घकालीन रुपमा हल गर्न सकिने विषयमा आफैँले प्रधानमन्त्री र मन्त्रिपरिषद्मा जानकारी गराएर निर्णय लिने बताए ।
आकाशे पानीको भरमा खेती गर्ने बाँकेको नरैनापुरका किसानले यसपालि परेको लामो खडेरीका कारण १५ प्रतिशत जमिनमा मात्र जसोतसोे धान रोपाइँ गरेका थिए । अधिकांश खेत बाँझो हुँदा गरेको रोपाइँ पनि खेतमै सुक्दा किसान चिन्तित देखिएका छन ।
तीन हजार नौ सय ६६ हेक्टर जमिनमध्ये दुई सय ६० हेक्टरमा अस्थायी प्रकारको सिँचाइ सुविधा भए पनि लामो समयको सुक्खाका कारण जमिनमुनि पानीको सतह घट्दा बोरिङमा पनि पानी नआउँदा किसानले धान रोपाइँ गर्न पाएका थिएनन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकामा भोकमरी सुरु भइसकेको भन्दै तत्काल सरकारले विशेष प्याकेज ल्याएर नरैनापुरको समस्या समाधान गर्न आग्रह गरे । गाउँपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरिसकेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट नरैनापुरको समस्यालाई सम्बन्धित मन्त्रालयमा समाधान खोज्ने समेत प्रयास भएको छ ।
FACEBOOK COMMENTS