काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले १० निर्वाचन क्षेत्रका उमेदवार मिलाउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
एमालेको उमेदवार सूची सार्वजनिक गरिएपछि पार्टी कमजोर हुने आशंका पैदा भएको भन्दै उनले कम्तीमा १० निर्वाचन क्षेत्रमा हेरफेर गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।
“पार्टीले उमेदवारको सूची सार्वजनिक गरेसँगै केही क्षेत्रमा न्याय नभएको गुनासो आएको छ । पार्टी कमजोर हुने आशंका पैदा भएको छ । अध्यक्ष नै हाम्रो सम्मानित नेता हो,” उनले सोमबार भिडियो सन्देशमार्फत भनेका छन्, “महाधिवेशनमा कसले सहयोग गर्यो वा गरेन भनेर होइन, विशाल छाती बनाउनुस् । कम्तीमा १० निर्वाचन क्षेत्रका उमेदवार मनोनयन दर्ताअघिसम्म सच्याउनुस् ।’’
ताप्लेजुङमा आफ्नो इच्छा हुँदाहुँदै अध्यक्षले अर्के निर्णय गरेको र त्यसमा किचलो नगर्ने भट्टराईको भनाइ छ । “अध्यक्षले निर्णय गरेपछि उमेदवार जिताउनु मेरो कर्तव्य हुनेछ । म ताप्लेजुङमा किचलो गर्ने छैन,’’ उनले भनेका छन् ।
सूर्य चिह्नबाट उमेदवार बन्न लागेका सबैलाई जिताउन क्रियाशील हुन पनि उनले कार्यकर्तालाई अपिल गरेका छन् । एमालेको सरकार आवश्यक रहेको भन्दै उनले पार्टीलाई अत्यधिक बहुमतले जिताउन क्रियाशील हुन आह्वान गरेका छन् ।

उमेदवार चयनको मापदण्ड, त्यसमा भएका कमजोरीलगायत विषयमा निर्वाचनपछि समीक्षा गरिने उनले उल्लेख गरेका छन् ।

“न्याय भएन भन्ने गुनासो आएएको छ । कमजोर हुने आशंका पैदा भएको छ । कमरेड अध्यक्ष तपाइँ नेता हो, सम्मानित नेता हो । विशाल छाती बनाउनुस्,” उनले भनेका छन्, “महाधिवेशनमा मलाई सहयोग गर्यो/गरेन भनेर उभिनुहुने छैन ।”

FACEBOOK COMMENTS