काठमाडौं । रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।
हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ ।
केही समय तेलको मूल्य अझै बढ्न सक्ने उद्योगी बताउँछन् । नेपाल दाल, चामल तथा तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले अन्तरराष्ट्रिय बजारमा सुधार आइनसकेकाले तत्काल मूल्य घट्ने वा स्थिर रहने सम्भावना नरहेको बताए । डलरको मूल्य बढ्नु, रुस–युक्रेन तनावका कारण लामो समय तेलको कच्चा पदार्थ उत्पादन हुन नसक्नु, युक्रेनको तेलहन उत्पादनमा असर पर्नुजस्ता कारणले मूल्य अझै बढ्न सक्ने संकेत देखिएको उनी बताउँछन् । उनका अनुसार युद्धका कारण विश्व बजारमा तेलको मूल्यमा आगामी २ वर्षसम्म असर पर्ने सम्भावना छ ।
साना र खुद्रा व्यापारी भने तेलको मूल्य वृद्धिमा उद्योगी र थोक व्यवसायीले देखाएको कारण मान्न तयार छैनन् । नजिकिँदै गरेको चुनावका कारण उद्योगी व्यवसायीले तेलको मूल्य मनपरी बढाएको उनीहरूको आरोप रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS