काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरू पार्टीका चुनावी घोषणापत्र कार्यान्वयन गर्न नभइ जनता ढाँट्न ल्याएको बताएका छन् ।
सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका पार्टीहरूले फरक फरक घोषणापत्र ल्याएकाले उनीहरूले कार्यान्वयन गर्न नसक्ने बताएका हुन् ।
उनले राम लक्ष्मण जन्मेको ठाउँमा आफूले रामजन्म भूमि ल्याउँदा माओवादीका अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रति कटाक्ष गर्दै भने, ‘एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठायो, लखेट्ने भो भने । मलाई थाहा थियो एमालेसँग दुश्मनी गर्ने पनि सिद्धिन्छन् । सीता, राम, लक्ष्मण, हनुमानसँग दुश्मनी गर्ने सिद्धिन्छन्। चुप लागेको भए हुन्थ्यो दुश्मनी गरे ।’
ओलीले त्यसो भन्ने नेता उकालोतिर लागे भन्दै प्रचण्डलाई संकेत गरे । ‘एकपल्ट काम लाग्छ त्यो पनि । भाग्या ठाउँ पनि एकपल्ट काम लाग्छ’, ओलीले भने, ‘हालत के रहेछ गोरखामा पनि भोट गरेर चुनाव जित्ने अवस्था रहेनछ । मान्छे कुट्न थाले ।’
उनले वियरका बोतलले अर्काको टाउकोमा हान्ने हो डेमोक्रेसी भन्दै प्रश्न समेत गरे । गठबन्धनलाई फुटेको हाडीको चोइटाको संज्ञा दिँदै उनले देशका लागि अभिशाप बनेको बताए । ‘अस्पताल, स्कुल, बाटा बनाउने योजना काट्छन् । बैंकमा पैसा छैन । व्याजदर बढेको बढ्यै छ’, ओलीले भने, ‘आज गतिलो मोबाइल र राम्रो गाडी चढ्छु भन्दा पनि पाइँदैन । नेपालमा यसअघि सायद यस्तो सुनिएको थिएन ।’
FACEBOOK COMMENTS