वीरगञ्ज । भारतले आफ्ना उपभोक्तालाई राहत दिन प्रशोधित खानेतेल आयातमा लिएको नीतिबाट नेपालका तेल उद्योग आहत भएका छन् । भारतीय नीतिका कारण नेपालबाट तेल निकासी एक चौथाइमा खुम्चिएको छ ।
निकासीमा मुख्य योगदान दिँदै आएको तेलको व्यापार खस्किएपछि वैदेशिक व्यापार सन्तुलन थप नकारात्मक बन्ने देखिएको सरोकारवाला बताउँछन् । खानेतेल निकासी हुने मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष ९आव० २०७८/७९ को पहिलो चौमासभन्दा चालू आव २०७९/८० को उक्त अवधिमा प्रशोधित पाम तेलको निर्यात ६९ प्रतिशतले घटेको छ । मूल्यका आधारमा गरिएको हिसाबअनुसार उक्त परिमाणमा निर्यात घटेको हो ।
गत आवको पहिलो चार महीनामा साढे १३ अर्ब रुपैयाँ बराबरको सात करोड ६ लाख लिटर पाम तेल निर्यात भएकोमा यो वर्षको सोही अवधिमा ४ अर्ब ९ करोड रुपैयाँको मात्रै निकासी भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताए ।
चालू आवको साउनदेखि कात्तिकसम्ममा एक करोड ७८ लाख लिटर पाम तेल भारत निकासी भएको भन्सारको तथ्यांक छ । चालू आवको शुरूका चार महीनामा ३ अर्ब २ करोड रुपैयाँ मूल्यको एक करोड १३ लाख किलोग्राम भटमासको प्रशोधित तेल निकासी भएको छ । यो मूल्य गत आवको सोही अवधिको भन्दा ८२ प्रतिशत कम भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS