काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएको आगामी मंसिर ३१ गते पाँच महिना पूरा हुँदै छ । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई अबको १८ महिनापछि सत्ताको साँचो बुझाउने सार्वजनिक रूपमै बताउँदै आएका छन् । उनले चीन भ्रमण सकेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै भने, ‘अब मेरो चानचुन १७/१८ महिना जति होला, त्यसपछि म देउवालाई जिम्मा दिन्छु, उहाँले चुनाव गराउनुहुन्छ, हामी आ-आफ्नो तर्फबाट बहुमत ल्याउने कोसिस गर्छौं । सके ल्याउँछौं, नसके अरू विकल्पहरू हुन्छन् ।’
अर्कातर्फ सत्ता साझेदार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अहिलेको सरकारप्रति सन्तुष्ट देखिन्छन् । उनले हालै मात्र २२ मंसिरमा पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा आफू अहिलेको ओली सरकारपछि अत्यन्तै सन्तुष्ट रहेको भाव व्यक्त गरे। उनले सम्बोधनका क्रममा भने, ‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ ।’
देउवा त्यतिमा मात्र रोकिएनन्, कांग्रेस-एमालेको गठबन्धन स्थायित्वका लागि बनेको दाबी गर्दै उनले प्रधानमन्त्रीले सबै काम राम्रो गरेको दाबी गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा निकै महत्त्वपूर्ण काम गरेर आएको पनि बताए । उनले भने, ‘मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्त्वपूर्ण कुरा गरेर आउनुभएको छ ।’ उनले चीन भ्रमणका क्रममा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे ।
स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनुपरेको उल्लेख गर्दै देउवाले दुई पार्टी मिल्दा देशमा स्थायित्व आउने जिकिरसमेत गरेका छन् ।
अहिलेको देउवा-ओली सम्बन्ध साँच्चिकै बलियो देखिएको छ । यसले आगामी १८ महिनापछि देउवा प्रधानमन्त्री बन्ने कुरामा ढुक्क देखिन्छन् । दुई दल मिलेपछि पटकपटक धोका दिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देखाइदिने रणनीतिमा पनि उनीहरूको कुरा मिलेको छ । अर्कातर्फ सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न उनलाई पक्राउ गर्नुमा पनि नेपाली कांग्रेस सन्तुष्ट देखिन्छ । त्यसैले पनि देउवा ओलीको कामलाई कुनै अपजस दिन चाहँदैनन्, बरू ओली फकाएर १८ महिनापछि प्रधानमन्त्री बनेर चुनाव गराउन आफ्नै हात माथि राख्न चाहन्छन् ।
अर्कातर्फ ओलीप्रति देउवा सन्तुष्ट हुनुका पछाडि नेपाली कांग्रेसको महाधिवेशनसम्म पुग्दा आफू प्रधानमन्त्रीको कुर्सीमा हुने र त्यसपछि महाधिवेशन गराउने कारण पनि छन् । आगामी १५ औं महाधिवेशनमा देउवा सभापतिको दाबेदारका रूपमा उठ्ने छैनन् । दुई कार्यकालभन्दा सभापति बन्न नपाइने कांग्रेसको विधान भएको हुँदा उनी आगामी चुनावी मैदानमा हुने छैनन् । तर, देउवाको इशाराबाट अर्थात् गुटबाट जो सभापतिमा उठ्छ, उसको जित सहज हुने छ । अहिले नै कित्ता क्लियर नभए पनि देउवाले आफ्नो हालिमुहाली र पत्नी आरजु राणाको बाँकी राजनीतिक भविष्य सुरक्षितसहित मैदानमा आफ्नो खेलाडी पठाउने छन् । त्यसका लागि कुन पात्र उपयुक्त हुन्छ भन्नेमा पर्ख र हेरको अवस्थामा देउवा देखिन्छन् । अझ भनौं, उनी परीक्षणकै क्रममा छन् । त्यसका लागि उनलाई सत्ता-यात्राले जोड घटाउ गर्न सबैभन्दा ठूलो मद्दत पुर्याउने कुरा कांग्रेस सभापति जतिको पाको मान्छेले नबुझ्ने कुरै आउँदैन । आफ्नो रणनीतिलाई सफल बनाउन पनि देउवा ओलीप्रति अत्यन्तै हर्षित देखिन्छन् ।
यस्तै बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कोअपरेशनमा भएको सम्झौतालाई लिएर नेपाली कांग्रेसका एक तहका नेता ऋण वा अनुदान भन्नेमा अन्योल देखिन्छन् । यसमा ओली स्वयंले जे पनि हुन सक्ने बताएका छन् । यस्तै कतै कांग्रेस-एमालेको गठबन्धन त टुट्दैन भन्ने जुन शंका गरिन्छट, त्यो केवल दिवास्वप्नसरह हुन सक्छ । शंकाको बीउ भारततर्फ जस्तो देखिन्छ । तर, ओली ती नेता हुन् भारतले नाकाबन्दी लगाउँदा भारत भ्रमण नगरी चीनको भ्रमण गरेका थिए । ओली भारतसँग सिधा कुरा राख्न सक्छन् । चीन भ्रमणपछि भारतले निकै चासोका साथ भूराजनीतिक गतिविधिलाई नियालेको छ । त्यसैले भारत ओलीलाई चिढ्याउन चाहँदैन, मुख्य दलका देउवा नै ओलीप्रति सन्तुष्ट देखिएपछि अन्य कुरा छेउ लाग्छन् नै ।
एक राजनीतिक विश्लेषक भन्छन्, ‘ओली र देउवाको मन मिलेसम्म अहिलेको सरकार सानोतिनो झोँक्काले हल्लिँदैन ।’
FACEBOOK COMMENTS