काठमाडौं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्नुपर्ने विषयले राजनीति गर्माएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि काठमाडौं झापा–५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् र लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’