काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले ‘जेनजी’ आन्दोलनका क्रममा गरिएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यति बेलाका गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् ।
शनिबार (कात्तिक २९) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सरकारको जिम्मेवार पदमा बसेका व्यक्तिले घटनाको जिम्मेवारी लिनुपर्नेमा जोड दिएका हुन् । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनले बताए ।
भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने विषयको पनि गहिरो गरी अध्ययन र विश्लेषण जरुरी रहेको उनले औँल्याए ।
उनले बाह्यशक्तिको समेत घुसपैठका कारण जेनजी आन्दोलनका क्रममा ठूलो क्षति भएको आशंका गरे । उनले हाल ६ महिने चुनावी सरकार रहेको स्मरण गराउँदै यसले अरू देशसँग दीर्घकालीन असर पर्नेखालका सम्झौता गर्न नपाउने जिकिर गरे ।
अब आउने आमनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनले बताए ।

नेता रावलले कैदीबन्दी र हातहतियार बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको उल्लेख गरे । उनले मुलुकमा देखिएको चुनौतीलाई एक भएर सामना गर्न नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिएको बताए ।

FACEBOOK COMMENTS